काठमाडौँ । फिल्म ‘आचार्य’मार्फत अभिनेत्रीका रूपमा डेब्यू गरेकी पूर्णिका सिजापति नयाँ चलचित्र ‘हाम्रो सानो घर’मा मुख्य भूमिकामा देखिने भएकी छन्। सुमन गजमेरको निर्देशनमा निर्माण हुन लागेको चलचित्रका लागि पूर्णिकालाई यसै साता अनुबन्ध गरिएको हो।
चलचित्रमा पूर्णिकाले निर्वाह गर्ने पात्रबारे भने निर्माण टिमले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन। फिल्मको बाँकी कलाकारको छनोट प्रक्रिया अहिले चलिरहेको निर्देशक गजमेरले जानकारी दिएका छन्।
मोडलिङमा समेत सक्रिय पूर्णिकाले १६ वर्षको उमेरदेखि यो क्षेत्रमा पाइला राखेकी थिइन्। कक्षा ११ मा अध्ययनरत रहँदा मोडलिङ सुरु गरेकी उनले ‘फेस अफ टिन २०२१’ र ‘फेस अफ क्लासिक डायमन्ड २०२४’को उपाधि जितिसकेकी छन्। ठूलो पर्दामा ‘आचार्य’मार्फत डेब्यू गर्नुअघि उनी केही म्युजिक भिडियोमा पनि देखिइसकेकी थिइन्।
‘हाम्रो सानो घर’को छायांकन दसैंपछि सुरु गर्ने तयारी छ। पूर्णिकाबाहेक अन्य कलाकार तथा प्राविधिक टिमलाई अन्तिम रूप दिने काम भइरहेको छ। निर्देशक गजमेरका अनुसार चलचित्रमा जातीय तथा वर्गीय विभेद, समाजमा आइरहेको परिवर्तन र जेनजी पुस्ताका चाहनालाई कथाको हिस्सा बनाइएको छ।
उनले चलचित्रमा दर्शकले प्रेमकथाको फरक स्वाद अनुभव गर्न पाउने बताएका छन्।
‘हाम्रो सानो घर’ सुमन गजमेरको निर्देशनमा बन्न लागेको पहिलो चलचित्र हो। उनले ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म लेखन तथा निर्देशनमा स्नातक गरेका छन्। यसअघि उनले ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’, ‘शेर्वा’ र ‘भित्ते पात्रो’मा लेखकका रूपमा काम गरिसकेका छन्।





