००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

यौनकर्मीको मानव अधिकार हननलाई केन्द्रमा राखी बुनिएको ‘लालिमा’

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २८
165
 यौनकर्मीको मानव अधिकार हननलाई केन्द्रमा राखी बुनिएको ‘लालिमा’
सारांश
चलचित्रले यौनकर्मी बन्ने सामाजिक परिवेशभन्दा मानवअधिकारको पक्षलाई प्राथमिकता दिएको छ ।

काठमाडौं – २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात फिल्म ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ । हात्तिसारमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहरूको अवस्था गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि फिल्म बनाउने निर्णय लिएको बताए ।

उनले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले यौनकर्मी पर्दामा देखिन चाहनुभएन । यो कथा कुनै न कुनै रुपमा दर्शकसम्म पुग्नुपर्छ भन्ने लागेर फिचर शैलीमा निर्माण गरेका हौँ ।’ उनले डकुमेन्ट्रीका लागि सयौँ यौनकर्मीसँग कुराकानी गरेको र उनीहरुकाे प्रतिनिधि अनुभव समेटेर चलचित्र निर्माण गरेको जानकारी गराए । तर चलचित्र बनाउँदा शेाषणभन्दा पनि मानवअधिकारको पक्षलाई प्राथमिकता दिएको उनले बताए ।

चलचित्रमा रोशनी कार्कीले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । राेशनीले चलचित्रको प्रस्ताव आउँदा सक्छु र ? जस्तो लागे पनि कथा र निर्देशकको आत्मविश्वासले विश्वस्त बनाएको बताइन् । 'सुटिङअघि केही यौनकर्मीसँग कुरा गर्ने अवसर पाएकी थिएँ । यसले चरित्रलाई आत्मसात गर्न सजिलो भयो । त्योबाहेक निर्देशकको यो क्षेत्रमा लामो अनुभव भएकाले उहाँले सजिलै गाइड गर्नु भयोे,रोशनीले भनिन् । समस्या परेका यौनकर्मीको आवाज बनेर फिल्ममा देखिन पाउने अवसर गुमाउन नचाहेका ‘लालिमा’मा काम गरेको शीर्ष नायिका रोशनी कार्कीले बताइन् ।

उनले भनिन्, ‘समाजले यौनकर्मीहरूले मानवको दर्जासमेत दिएको छैन । यो फिल्मको प्रस्ताव आएपछि मैले उहाँहरूबाट बुझेको प्रमुख कुरा यही हो । उहाँहरू यो कर्ममा आउनुको कारण डरलाग्दो छ । उहाँहरूको आवाज बन्न म यो फिल्ममा जोडिएको हो ।’चलचित्रमा रोशनीपछि समानान्तर भूमिकामा उषा रजक रहेकी छिन् । चलचित्रमा उनले राेशनीको आमाको भूमिका निर्वाह गरेकी छिन् । विगत लामो समयदेखि निर्माण पक्षले यौनकर्मीसँग जोडिएर गरेको काम गरिरहेका कारण आफू यस फिल्ममा अनुबन्ध भएको नायिका उषा रजकले बताइन् ।

उनले भनिन्, ‘कसैको पीडालाई फिल्म बनाउने अधिकार कसैलाई छैन जस्तो मलाई लाग्छ । तर, यो टिमले २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरेको छ । उनीहरुको पीडामा साथ दिएको छ । उहाँहरूसँग तीन हजार यौनकर्मीको जोडिएर काम गरेको अनुभव छ । सोहीकारण उहाँहरूलाई यौनकर्मीको पीडाको कथा भन्ने अधिकार छ जस्तो लाग्यो । त्यही भएर म यो फिल्मको कलाकार बन्न तयार भएँ ।’

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्ममा रोश्नी र उषासहित नायक जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् । फागुन २९ बाट प्रदर्शनमा आउने यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार