मुम्बई । कन्नड अभिनेता यश अभिनित बहुप्रतिक्षित फिल्म ‘टक्सिक’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको झलकले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया पाएको छ। प्रशंसकहरूले यसलाई सम्भावित ब्लकबस्टरको संकेतका रूपमा लिएका छन्।
टिजरमा यश ‘राया’ नामक पात्रमा प्रस्तुत छन्, जो आक्रामक र विद्रोही स्वभावका रूपमा देखिन्छन्। सुरुवात अँध्यारो र रहस्यमय वातावरणबाट हुन्छ, जहाँ उनलाई शक्तिशाली शत्रुहरूको सामना गर्नुपर्ने संकेत दिइन्छ। त्यसपछि राया कुनै पनि परिस्थितिमा पछि नहट्ने अडानका साथ प्रस्तुत हुन्छन्।
एक्सनप्रधान दृश्यहरू र कडा द्वन्द्वले फिल्मको कथावस्तु तीव्र र कठोर हुने संकेत गर्छ। टिजरभरि तनावपूर्ण वातावरण र संवादले कथालाई अझ प्रभावशाली बनाएको छ। फिल्ममा मलयालम अभिनेता टोभिनो थोमसले प्रतिपक्षी भूमिका निर्वाह गरेका छन्। टिजरको अन्त्यतिर उनी र यशबीचको टकरावले कथा झन् रोचक बन्ने संकेत दिन्छ।
गीतू मोहनदासको निर्देशनमा बनेको यस फिल्ममा नयनतारा, हुमा कुरैसी, कियारा आडवाणी, तारा सुतारिया र रुक्मिणी वसन्तलगायत कलाकारको अभिनय छ। कन्नड र अङ्ग्रेजी भाषामा निर्माण भएको फिल्म हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा समेत रिलिज गरिने तयारी छ।
‘टक्सिक’ आगामी मार्च १९ मा विश्वभर प्रदर्शनमा आउने जनाइएको छ। सोही मितिमा अर्को ठूलो परियोजना ‘धुरन्धर’ पनि प्रदर्शनको तयारीमा रहेकाले बक्स अफिस प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।





