फिल्म 'परालको आगो'को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टोलीले करिब चार मिनेट लामो भावनात्मक ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरले दुई फरक विवाहित जोडीको कथा प्रस्तुत गर्छ। प्रकाश सपूत र सुहाना थापा नवविवाहित दम्पतीको रूपमा देखिएका छन्। सुरुमा उनीहरूबीच गहिरो प्रेम देखिए पनि क्रमशः सामान्य घरायसी विषयमा असमझदारी बढ्दै जान्छ र त्यसले झगडाको रूप लिन्छ। परिस्थिति बिग्रिँदै जाँदा सुहाना माइती फर्किएको देखाइन्छ भने प्रकाश घरका जिम्मेवारीमा संघर्ष गरिरहेको झल्किन्छ।
अर्कोतर्फ, सौगात मल्ल र सृजना अधिकारीले आर्थिक अभावबीच पनि सन्तुष्ट र समझदार दम्पतीको भूमिका निर्वाह गरेका छन्। सौगातले ‘जुठे’ नामको दमाईं पात्र निभाएका छन्, जसले समाजमा महिलाप्रति सम्मानको सन्देश दिन खोजेको संकेत ट्रेलरमा पाइन्छ। समग्रमा ट्रेलर भावनात्मक र दृश्यात्मक रूपमा प्रभावकारी देखिन्छ।
फिल्म आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यसमा किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया र रेनु न्यौपाने लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । हरिओम सिने मेकर्सको ब्यानरमा बनेको फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ भने पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन्।
यो फिल्म आधुनिक नेपाली साहित्यकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा समावेश ‘परालको आगो’ कथाबाट प्रेरित रहेको बताइएको छ। फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, किरण तुलाधरको पार्श्व संगीत, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतको संगीत समावेश छ।










