काठमाडौं । मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘रत्यौली’को छायांकन सुरु भएको छ । मंगलबार बिहान काठमाडौंको गौशालास्थित पशुपतिनाथ क्षेत्रमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।
चलचित्रको टिमले काठमाडौंमा दुई दिन छायांकन गरेपछि दोलखाको जिरी प्रस्थान गर्नेछ । निर्देशक ढकालका अनुसार जिरीमा करिब एक महिनासम्म चलचित्रको छायांकन हुनेछ ।
नाइटेङ्गल इन्टरटेनमेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा विजय बराल र पूजा शर्मा मुख्य भूमिकामा छन् । यो उनीहरूबीचको पहिलो सहकार्य हो । चलचित्रमा लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, सानू पाण्डेय, एभोन राज उप्रेतीलगायत कलाकारको अभिनय रहनेछ ।
पूजा शर्मा प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता सुरज आचार्य हुन् । हरि हुमागाँई र उत्तम हुमागाँईले छायांकन (डीओपी) सम्हाल्नेछन् भने अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ ।
नेपाली समाज र संस्कृतिलाई केन्द्रमा राखेर सम्बन्धको कथा प्रस्तुत गर्ने बताइएको चलचित्र महाशिवरात्रिको अवसरमा फागुन २१ गते प्रदर्शनमा आउनेछ ।
यस चलचित्रमार्फत पूजा शर्माले लामो समयदेखि सहकार्य गर्दै आएका निर्देशक सुदर्शन थापाबाहेक अर्कै निर्देशकसँग पहिलोपटक सहकार्य गरेकी हुन् । ‘रावायण’पछि पूजा र सुदर्शनबीचको सम्बन्धमा आएको उतारचढावपछि पूजाले मुस्कान ढकालसँग ‘रत्यौली’मा सहकार्य गरेकी हुन् ।
रोचक पक्ष भनेको ‘रत्यौली’ र सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘शुभ विवाह’ एउटै मितिमा प्रदर्शनमा आउने तयारीमा छन् । यसले यी दुई चलचित्रबीचको प्रतिस्पर्धालाई समेत चासोको विषय बनाएको छ ।





