काठमाडौँ । निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण भएको सुपरहिट चलचित्र ‘आबाट आमा’ को सिक्वेल बन्ने पक्का भएको छ। अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर निर्माण पक्षले आइतबार ‘आबाट आमा २’ निर्माणको औपचारिक घोषणा गरेको हो।
निर्माण कम्पनी आर्य इन्टरटेन्मेन्टले चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै यसको दोस्रो भाग निर्माण हुन लागेको जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा अभिनेता पल शाहलाई मात्र प्रस्तुत गरिएको छ, जसले गर्दा यसपटक पनि उनी नै शीर्ष भूमिकामा रहने सुनिश्चित भएको छ।
गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको ‘आबाट आमा’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गर्दै ११ करोड रुपैयाँभन्दा माथिको कलेक्सन गरिसकेको छ। पहिलो भागमा पल शाहसँगै विपिन थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेती लगायतको मुख्य भूमिका रहेको थियो।
सिक्वेलको घोषणासँगै निर्माण पक्षले प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ। चलचित्र आगामी २०८३ सालको दसैँमा दर्शकमाझ आउनेछ। दसैँको सिजनलाई लक्षित गर्दै यसअघि नै अन्य केही ठूला चलचित्रहरूले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन्।
दोस्रो भागका लागि पल शाह बाहेक अन्य कलाकारहरूको बारेमा भने निर्माण पक्षले अहिले केही खुलाएको छैन। पहिलो भागको सफलताले गर्दा यसको सिक्वेललाई लिएर दर्शकमाझ निकै उत्सुकता देखिएको छ।





