काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नारी केन्द्रित नेपाली फिल्म ‘टिका– द स्टेटलेस सोल’ निर्माण गर्ने घोषणा गरिएको छ। यो फिल्म भविष्य खड्का फिल्मस् प्रा.लि. को प्रस्तुतिमा थर्ड आइ आट्र्स प्रा.लि. सँगको सहकार्यमा बन्ने बताइएको छ।
फिल्मले नेपाली समाजमा महिलाले भोग्नुपर्ने संघर्ष, आत्मसम्मान, पहिचान र आत्मनिर्भरताको विषयलाई मुख्य कथावस्तु बनाउनेछ। यसलाई निर्देशक शंकर कार्की ले निर्देशन गर्ने तयारी गरिएको छ।
निर्माण घोषणासँगै सार्वजनिक गरिएको थीम पोस्टरमा ‘टिका’ शब्दलाई रातो गोलाकारभित्र सेतो अक्षरमा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्ममा देखाइने संघर्ष, साहस र नैतिक स्पष्टताको संकेत गर्ने निर्माण पक्षको भनाइ छ।
फिल्मकी निर्माता भविष्य खड्का हुन्, जसले यसअघि सफल फिल्म जेरी अन टप निर्माण गरेकी थिइन्। चलचित्रमा मुख्य भूमिकामा महेश त्रिपाठी, ऋचा शर्मा, वर्षा शिवाकोटी र हास्य कलाकार निर्मल शर्मा अनुबन्ध भइसकेका छन्। बाल कलाकार आयुशी ढकाल पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन्।
फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसी का अनुसार अन्य कलाकार र प्राविधिक टिमको छनोट प्रक्रिया अझै जारी छ। कथावस्तु चन्दन झा र निर्देशक कार्कीले संयुक्त रूपमा तयार पारेका हुन् भने पटकथा रामकुमार श्रेष्ठले लेखेका छन्।
निर्माण टिमका अनुसार कलाकार तथा प्राविधिक टिम पूर्ण भएपछि छायांकन सुरु गरिनेछ। त्यसै समयमा फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गर्ने योजना रहेको बताइएको छ।




