काठमाडौं । आगामी फागुन २९ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालिमा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार सार्वजनिक गरेको पोस्टरमा शीर्ष नायिका रोशनी कार्कीलाई एक्लै प्रस्तुत गरिएको छ।
निर्देशक तथा लेखक रोशन मिराजका अनुसार पहिलो पोस्टर सार्वजनिक भएपछि दर्शकबाट उत्सुक प्रतिक्रिया आएकाले नयाँ पोस्टरमार्फत पात्रको अर्को पाटो देखाउने प्रयास गरिएको हो।
नयाँ पोस्टरमा रोशनीलाई आत्मविश्वासी, धैर्यशील र शान्त भावमा चित्रण गरिएको छ। झ्यालबाट भित्रिएको प्रकाशले उज्यालो पारेको दृश्यमा उनी पीडापछिको स्थिरता र आत्मबल झल्काउने मुद्रामा देखिन्छिन्। दृश्य संरचनाले उनको पात्र यौनकर्मीको भूमिकासँग जोडिएको संकेत पनि दिन्छ।
निर्देशक मिराजका अनुसार पहिलो पोस्टरले रहस्य र असहाय अवस्थालाई केन्द्रमा राखेको थियो भने दोस्रो पोस्टरले शक्ति, परिवर्तन र आत्मविश्वासलाई उजागर गरेको छ। शीर्षक लेख्न प्रयोग गरिएको रातो रङ र सिनेम्याटिक प्रकाश संयोजनले कथामा भावनात्मक गहिराइ रहेको सन्देश दिने उनको भनाइ छ।
फिल्ममा रोशनीसँगै जीवन भट्टराई मुख्य भूमिकामा छन्। अन्य कलाकारमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको अभिनय रहेको छ।
निर्माण पक्षका अनुसार करिब तीन हजार यौनकर्मीका अनुभव, संघर्ष र जीवनकथाबाट प्रेरित भएर कथा तयार गरिएको हो। फेथ आस्थाको प्रस्तुति रहेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।
फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’ प्रतिनिधिसभा निर्वाचनपछिको सो मितिमा रिलिज हुने एकमात्र फिल्म हुने जनाइएको छ। वितरणको जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ।





