काठमाडौं । बोक्सीको घर मार्फत बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारी ले आफ्नो नयाँ चलचित्र स्टेशन को निर्माण कार्य औपचारिक रूपमा सुरु गरेकी छिन्।
अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो। कार्यक्रममा निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो।
यसअघि नै निर्माण घोषणा गरिएको चलचित्रको ‘थिम पोस्टर’ले दर्शकमाझ कौतुहलता बढाएको थियो। पोस्टरमा देखिएको रहस्यमय सामग्रीले फिल्म सामाजिक ड्रामामा आधारित हुने संकेत गरेको छ।
बोक्सीको घर को सफल टिमसँग सहकार्यलाई निरन्तरता दिँदै यो फिल्म निर्माण हुन लागेको हो। सुलक्षण भारती ले निर्देशन गर्ने यस चलचित्रको कथा पनि उनकै रहेको छ भने निर्माण बद्री अधिकारी ले गरेका छन्।
फिल्ममा को–को कलाकार रहनेछन् भन्ने विषयमा निर्माण टिमले अझै गोप्य राखेको छ। केकी अधिकारी स्वयं अभिनय गर्ने वा केवल निर्मात्रीको भूमिकामा रहने भन्ने विषय पनि खुलाइएको छैन।
छायांकन तेस्रो सातादेखि सुरु गर्ने तयारी रहेको यो चलचित्र आगामी भदौ १९ गते देशभर प्रदर्शनमा आउनेछ।





