००:००:००
ट्रेन्डिङ

‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक

योगेन्द्र नगरकोटी
2 घण्टा अगाडि
82
‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
सारांश
यस चलचित्रलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्।

काठमाडौं । जेठ १ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक मुठ्ठी बादल’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ। ‘रेल घुम्यो घुम्तीमा’ बोलको गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारीको अभिनय देख्न सकिन्छ।

सुमित पाठकको संगीतमा तयार भएको यस गीतमा मिना पोखरेल र इन्द्रकला राईले स्वर दिएका छन् भने शब्द सिर्जना हर्क साउदको रहेको छ। गीतले एउटै परिवारका तीन पुस्ताका महिलाको भावना र अनुभवलाई समेट्ने प्रयास गरेको छ। ‘नेपाल आइडल सिजन २’का उपविजेता सुमित पाठकका लागि यो चलचित्र संगीतमा पहिलो काम हो।

गीतको भिडियो विवाहअघि हुने रमाइलो परिवेशमा आधारित छ। घरमा बिहेको तयारीसँगै विभिन्न उमेर समूहका महिलाहरूको जीवन भोगाइ र भावनालाई प्रस्तुत गरिएको छ। निर्देशक सहारा शर्माले गीतमार्फत चलचित्रको मुख्य भाव व्यक्त गर्ने प्रयास गरिएको बताएकी छन्। उनका अनुसार, सबै पुस्ताका महिलाले आत्मसात् गर्न सक्ने कथा र भावना गीतमा समेट्नु चुनौतीपूर्ण भए पनि सफल भएको अनुभूति गरिएको छ।

चलचित्रको लेखन तथा निर्देशन सहारा शर्माले गरेकी हुन् भने गीतको निर्देशन प्रतीक गुरुङले गरेका छन्। कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहेको गीतको कलर ग्रेडिङ पनि कृष्ण भण्डारीले नै गरेका हुन्।

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ । निर्माण पक्षमा अभिमन्यु दीक्षित निर्माता र निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। साथै जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि निर्माण टोलीमा संलग्न छन्।

प्राविधिक पक्षमा लिन्ह डान गुयेन फानको छायाङ्कन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा र कीर्ति जोशीको मेकअप रहेको छ।

यस चलचित्रलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मको नेपाल वितरण आरआर फिल्मसले गर्नेछ।

साझा गर्नुहोस्: