नेपाली फिचर फिल्म ‘एक मुठ्ठी बादल’ आउँदो वर्ष जेठ १ (मे १५) देखि प्रदर्शनमा आउने भएको छ। फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन ले निर्माण गरेका हुन् भने नेपालमा वितरण आरआर फिल्म्स ले गर्नेछ।
फिल्मको लेखन तथा निर्देशन सहारा शर्मा ले गरेकी हुन्। तीन पुस्ताको भावनात्मक उतारचढावमार्फत परिवर्तनशील नेपाली समाजमा परिवार, अपेक्षा, त्याग र व्यक्तिगत सपनाको कथा प्रस्तुत गरिएको छ।
फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि निर्माण टोलीमा छन्।
कलाकारमा आँचल शर्मा (माइली), निशा शर्मा (तीन दशकपछि फिल्ममा पुनरागमन), उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी रहेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि फिल्मले उपलब्धि हासिल गरेको छ। यो फिल्मले Hubert Bals Fund को युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली फिल्म बनेको छ। साथै कान फिल्म फेस्टिभल (Marché du Film), लोकार्नो ओपन डोर्स, र वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब जस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाएको थियो।
फिल्मको छायांकन भियतनामकी सिनेमाटोग्राफर Linh Dan Nguyen Phan ले गरेकी हुन्। प्रडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन दीपा भाटिया, र कलर ग्रेडिङ थाइल्यान्डको White Light ले गरेको छ।
नेपालतर्फ कला निर्देशक ठकुरी झा, भेषभूषा डिजाइन जानकी कडायत, मेकअप कीर्ति जोशी र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन्।





