मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

बाढीपीडितका लागि ‘पार्वती’ टिमको ११ लाख ३ हजार सहयोग, कुल ग्रस आम्दानीको ५ प्रतिशत पनि दिने घोषणा

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
38
1.2K
बाढीपीडितका लागि ‘पार्वती’ टिमको ११ लाख ३ हजार सहयोग, कुल ग्रस आम्दानीको ५ प्रतिशत पनि दिने घोषणा
सारांश
चलचित्रको टिमले पूर्वघोषणाअनुसार प्रदर्शनको पहिलो दिन प्राप्त ग्रस कलेक्सनबाट निर्माताको हिस्सेदारीमा आएको ११ लाख ३ हजार २७० रुपैयाँ आज प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनरत चलचित्र ‘पार्वती’को टिमले ११ लाख ३ हजार २७० रुपैयाँ सहयोग गरेको छ।

चलचित्रको टिमले पूर्वघोषणाअनुसार प्रदर्शनको पहिलो दिन प्राप्त ग्रस कलेक्सनबाट निर्माताको हिस्सेदारीमा आएको ११ लाख ३ हजार २७० रुपैयाँ आज प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

अर्थ मन्त्रालय पुगेर चलचित्रकी निर्देशक नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा वरिष्ठ पत्रकार प्रकाश सुवेदीले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा हस्तान्तरण गरेका हुन्।

सहयोग रकम हस्तान्तरणपछि चलचित्रको टिमले यो कदम आफूहरूको मात्र नभई ‘पार्वती’लाई माया गर्ने सम्पूर्ण दर्शकको योगदान भएको जनाएको छ। सिनेमा हलसम्म पुगेर दर्शकले दिएको माया र विश्वासकै कारण आफूहरूले यस्तो पवित्र कार्य गर्न सकेको भन्दै टिमले दर्शकप्रति आभार व्यक्त गरेको छ।

यसैबीच, ‘पार्वती’ टिमले देश तथा विदेशमा चलचित्रको सम्पूर्ण प्रदर्शन अवधिभर हुने कुल ग्रस आम्दानीबाट थप ५ प्रतिशत रकम बाढीपीडितको राहतका लागि सहयोग गर्ने घोषणा समेत गरेको छ।

‘पार्वती’ एउटा चलचित्र मात्र नभई नेपाली समाजको भोगाइ, संघर्ष, हिम्मत र आशाको कथा भएकाले दुःखमा परेका नागरिकको साथमा उभिन आफूहरूले यो अभियान अघि बढाएको टिमले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार