काठमाडौं । निर्देशक चन्द्र पन्तको फिल्म ‘आबाट आमा’ ले घरेलु बक्स अफिसमा उल्लेखनीय व्यापार गरेको छ। माघ १६ गतेबाट प्रदर्शन सुरु गरेको यस चलचित्रले हालसम्म ११ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ।
उपलब्ध तथ्यांकअनुसार, फागुन ९ गतेसम्म फिल्मले कुल ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा ४ लाख २३ हजारभन्दा बढी दर्शकले टिकट खरिद गरेका छन्।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा ‘आबाट आमा’ सहित प्रदर्शनरत अन्य चलचित्रहरूको व्यापार विवरण पनि समेटिएको छ।
भावनात्मक तथा पारिवारिक कथावस्तुमा आधारित यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। फिल्मले राम्रो व्यापार गरेसँगै यसको सिक्वेल ‘आबाट आमा २’ निर्माण गर्ने तयारी समेत घोषणा भइसकेको छ।
हाल सिनेमाघरमा ठूला नयाँ फिल्म रिलिज नभएकाले ‘आबाट आमा’ ले अझै केही समयसम्म राम्रो दर्शक उपस्थिति कायम राख्ने अनुमान गरिएको छ।





