सन् २०२२ पछि पहिलो पटक विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय अमेरिकी डलर भन्दा माथि पुगेको छ ।
इरानसँगको बढ्दो अमेरिका–इजरायल युद्धले हर्मुज मार्गबाट ढुवानीमा लामो समयसम्म अवरोध आउने डर बढेपछि चार वर्षमा पहिलो पटक तेलको मूल्य एक सय डलर भन्दा माथि पुगेको बीबीसीले जनाएको हाे । गत हप्ता अमेरिका र इजरायलले तेल डिपोहरूलाई लक्षित गर्दै इरानभरि नयाँ हवाई आक्रमण शुरू गरेका थिए । यस क्षेत्रबाट ऊर्जा आपूर्तिमा ठूलो अवरोध आउँदा विश्वभरीका उपभोक्ता र व्यवसायहरूका लागि मूल्य बढ्ने खतरा छ ।
सोमबारको शुरूवातमा एशियामा ब्रेन्ट क्रुड तेलको मूल्य करिब १५ दशमलव ५ प्रतिशतले बढेर १ सय ७ दशमलव १६ डलर र नायमेक्स लाइट स्वीट तेलको मूल्य १७ प्रतिशत भन्दा बढीले बढेर १ सय ६ दशमलव ७७ डलर पुगेको हाे । हमुर्ज मार्गमा लामो समयसम्म अवरोध रहिरहे मार्च महिनाको अन्त्यसम्ममा तेलको मूल्य प्रतिब्यारेल १ सय ५० डलर पुग्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।
हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यहीि क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीकोबीचमा रहेको हाे । एजेन्सी



