काठमाडौं । भारत आइतबार राति आईसीसी टी२० विश्वकप अन्तर्गत भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
अब भारतले आगामी मार्च ५ मा इंग्ल्यान्डसँग वानखेड़े स्टेडियममा सेमिफाइनल खेल्नेछ । कोलकाताको ईडन गार्डन्समा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन बनाए भने जेसन होल्डर ३७ रनमा अविजित रहे। भारतका जसप्रीत बुमराहले दुई विकेट लिए ।
वेस्टइन्डिजले अन्तिम पाँच ओभरमा ७० रन जोड्दै बलियो स्कोर तयार गरेको थियो। १५ ओभरमा टोलीको स्कोर ४ विकेटमा १२५ रन रहेको अवस्थामा रोवमन पावेल र होल्डरले पाँचौँ विकेटका लागि अविजित ७६ रनको साझेदारी गरेका थिए ।
जवाफमा १९६ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात कमजोर रह्यो। अभिषेक शर्मा र ईशान किशन समान १०–१० रनमा आउट भए। तिलक वर्माले २७ रन बनाए भने कप्तान सूर्यकुमार यादवले १८ रन जोडे ।
तर संजू स्यामसनले अविजित ९७ रनको उत्कृष्ट इनिङ्स खेल्दै भारतलाई जित दिलाए। उनले आफ्नो पारीमा १२ चौका र ४ छक्का प्रहार गरे ।यस जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ र उपाधि यात्रालाई अघि बढाएको छ । भारतको डिफेन्डिङ च्याम्पियन हो । सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकासँग नराम्ररी हारेसँगै भारतको ब्याटिङ र बलिङ फेल खाएको थियो । त्यसपछिका जित्ने पर्ने जिम्बाबे र वेस्ट इन्डिजसँगको खेलमा सानदार जित निकाल्दै भारत लयमा फर्किएको हो । तर घरेलु मैदानमा खेलिरहेको भारतले बलिङमा अझै लय नभेटेको टिप्पणी भइरहेको छ ।





