००:००:००
ट्रेन्डिङ
समाचार

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम, चैत १२ गते जात्रा

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
3
सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम, चैत १२ गते जात्रा
सारांश

काठमाडौं । काठमाडौंमा परम्परागत रूपमा मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम भइरहेको छ ।

<...

काठमाडौं । काठमाडौंमा परम्परागत रूपमा मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम भइरहेको छ ।

यस वर्षको जात्रालाई लक्षित गर्दै रथ निर्माण कार्य तीनधारा पाठशाला अगाडि भइरहेको छ । जहाँ बिहानदेखि बेलुकासम्म मानिसहरु निरन्तर खटिरहेका छन ।

चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने यस जात्राको लागि आवश्यक पर्ने परम्परागत रथ निर्माण कार्य अहिले अन्तिम चरणतर्फ उन्मुख छ । जात्राको मुख्य आकर्षणका रूपमा रहने सेतो मच्छिन्द्रनाथ लोकेश्वरको मूर्तिलाई केलटोलस्थित मच्छिन्द्र बहालबाट विधिपूर्वक बाहिर ल्याइन्छ । त्यसपछि केलटोल, इन्द्रचोक, बाङ्गेमुढा, असन, कमलाक्षी हुँदै तीनधारा पाठशालामा ल्याएर रथमा विराजमान गराइन्छ । यही प्रक्रियापछि मात्रै औपचारिक रूपमा रथयात्रा सुरु हुने परम्परा रहि आएको छ ।

जात्राको पहिलो दिन रथ जमलबाट असनसम्म तानिन्छ भने दोस्रो दिन असनदेखि हनुमानढोकासम्म पु¥याइन्छ । तेस्रो दिन भने रथलाई लगनसम्म लगिने प्रचलन रहेको छ । यसरी विभिन्न टोल हुँदै अघि बढ्ने रथयात्राले काठमाडौंको पूरानो बस्ती क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक उत्साहले भरिपूर्ण बनाउने गरेको छ ।

पूर्णमान महर्जनका अनुसार यो एउटा प्राविधिक काम मात्र नभई गहिरो धार्मिक आस्थासँग जोडिएको सेवा हो । विगत ३७ वर्षदेखि रथ निर्माणमा संलग्न महर्जन आफूले सानैदेखि यो काम गर्दै आएको र अहिले पनि उत्तिकै समर्पणका साथ लागेको बताए ।

उनका अनुसार पहिलेको समयमा रथ निर्माणको स्वरूप र शैली केही फरक थियो भने अहिले परम्परालाई जोगाउँदै आधुनिक आवश्यकताअनुसार केही परिवर्तन गरिएको छ ।

यस वर्ष रथ निर्माणको जिम्मेवारी पूर्णमान महर्जनले सम्हालेका छन् । उनले यो सीप आफ्नो बुवाबाट सिकेको उल्लेख गर्दै भगवानको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने बताए । ‘अरु काम होस् वा नहोस्, भगवानको काम भने गर्नैपर्छ भन्ने भावना छ,’ उनले भने,‘यसमा थकानभन्दा पनि आनन्द बढी महसुस हुन्छ ।’

रथ निर्माणमा प्रयोग हुने सामग्रीहरू पनि परम्परागत नै छन् । विशेषगरी काठ र सुक्खा वेथ प्रयोग गरिन्छ । वेथलाई पानीमा भिजाएर मजबुत डोरी बनाइन्छ, जसले रथलाई बाँध्न र संरचना मजबुत बनाउन सहयोग गर्छ । यी सबै कामहरू अत्यन्तै सीप र अनुभवका आधारमा गरिन्छन्, जसले परम्परागत ज्ञानको निरन्तरता पनि सुनिश्चित गर्छ ।

स्थानीयवासीहरू पनि यस कार्यमा सक्रिय रूपमा सहभागी भइरहेका छन् । धेरैले आस्था र श्रद्धाका साथ श्रमदान तथा सहयोग गर्दै आएका छन् । यसले जात्रालाई केवल धार्मिक कार्यक्रम मात्र नभई सामुदायिक एकताको प्रतीकका रूपमा पनि स्थापित गरेको छ ।

रथ निर्माण कार्यमा गुठी संस्थानको सहयोग रहेको छ । जसले यस्ता परम्परागत धार्मिक गतिविधिहरूलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यस वर्षको सेतो मच्छिन्द्रनाथ जात्रा चैत १२ गतेदेखि सुरु हुने जनाइएको छ । जात्रा सम्पन्न भएपछि काठमाडौं उपत्यकामा अन्य विभिन्न जात्रा तथा पर्वहरू पनि क्रमश ः सुरु हुने परम्परा रहेको छ । नेपालमा मनाइने विविध जात्रा तथा पर्वहरूमध्ये सेतो मच्छिन्द्रनाथ जात्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्व बोकेको पर्व हो ।

यसले एकातिर धार्मिक आस्थालाई बलियो बनाउने काम गर्छ भने अर्कोतर्फ पूराना परम्परा, सीप र सामुदायिक सहकार्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ ।

Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार