- रंगमञ्च
- ०४ असोज २०८२
हेटौंडा । नेपालीहरूको दोस्रो ठूलो चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा मकवानपुरका किसानहरू फूलखेतीमा व्यस्त छन् ।
घर सजावट र पूजा–आराधनामा प्रयोग हुने सयपत्री र मखमली फूलको माग ह्वात्तै बढेसँगै किसान र व्यवसायीहरूले उत्पादन बढाएका छन् ।
नेपाल सयपत्री फूल संगठनका अध्यक्ष बालकृष्ण चौलागाईंले हेटौंडा उपमहानगरपालिका–१७ स्थित हटियामा व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन् ।
चौलागाईंका अनुसार यस वर्ष मकवानपुरका विभिन्न क्षेत्रमा उत्पादन भएको फूलले हेटौंडा बजारको माग पूरा गर्नेछ । ‘मकवानपुरको मनहरी, बकैया, बागमती र हेटौंडा उपमहानगरपालिकामा उत्पादित सयपत्री र मखमली फूलले यस वर्ष हेटौंडा बजारलाई सहजै पुग्नेछ,’ अध्यक्ष चौलागाईंले बताए ।
उनका अनुसार भारतबाट आयात हुने फूलहरूलाई अस्थायी रूपमा रोक लगाउन सके स्थानीय किसानहरूको आम्दानीमा ठूलो वृद्धि हुनेछ । ‘हामीले उत्पादन बढाएका छौं । यदि आयातमा नियन्त्रण भयो भने मकवानपुरकै फूलले बजार सम्हाल्न सक्छ,’ चौलागाईंको भनाइ छ ।
चौलागाईंले एक बिघाभन्दा बढी जमिनमा फूलखेती गरेका छन् । उनले यस वर्ष सयपत्री, मखमली, गोदावरी लगायतका फूलहरू व्यावसायिक रूपमा उत्पादन गरेका छन्। तिहार नजिकिँदै गर्दा फूल खेतहरू सुन्तलाबगैँचाजस्तै रङ्गीन देखिएका छन् ।
फूलखेतीका लागि उपयुक्त माटो, मौसम र बजारको सहज पहुँचले मकवानपुरका किसानहरूलाई यस व्यवसायतर्फ आकर्षित गरेको छ । मनहरी, बकैया र बागमती गाउँपालिकाका किसानहरूले सयपत्री र मखमली खेतीलाई आम्दानीको मुख्य स्रोतको रूपमा लिन थालेका छन्।
स्थानीय फूल उत्पादकहरूका अनुसार हेटौंडामा मात्र तिहार अवधिमा करिब दुई करोड रुपैयाँभन्दा बढीको फूल कारोबार हुने अनुमान छ । यस कारोबारको ठूलो हिस्सा मकवानपुरमै उत्पादित फूलहरूले ओगट्ने अपेक्षा गरिएको छ ।
फूल व्यवसायीहरू अहिले माला बनाउने, प्याकिङ र वितरणमा व्यस्त छन्। स्थानीय व्यवसायी मिना लामाले भनिन्, ‘अहिले हरेक घर, कार्यालय र पसलमा फूलको माग बढेको छ। हामीले दैनिक सयौं दर्जन माला तयार गर्दैछौं ।’
प्रदेश सरकारले पनि फूलखेतीलाई प्रोत्साहन गर्न किसानलाई बीउ, मल र प्रविधि सहयोग उपलब्ध गराइरहेको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका एक अधिकारीका अनुसार, ‘फूलखेतीले आयात प्रतिस्थापन गर्न सक्छ र स्थानीय उत्पादनलाई बजार विस्तार गर्न मद्दत पुर्याउँछ ।’
तिहार नजिकिँदै गर्दा मकवानपुरका खेतबारीहरू अहिले सुन्तला, पहेंलो र रातो रङ्गका फूलले झल्किरहेका छन् । किसानहरूमा उत्साह छ ।