Site Logo
०५ मंसिर २०८२, शुक्रबार

हलमा दर्शक रुवाउँदै ‘श्रेया’ : ‘जेरी अन टप’मा आँचलको करिअरकै उत्कृष्ट अभिनय


काठमाडौं । नेपाली चलचित्र जेरी अन टप रिलिजसँगै अभिनेत्री आँचल शर्माको अभिनयले दर्शकदेखि समीक्षकसम्मको मन जितेको छ । चलचित्र सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालभरि उनको अभिनयको चर्चा सुरु भएको छ । चलचित्र हेर्ने दर्शकदेखि चलचित्रकर्मीसमेतले आँचलको अभिनय जेरी अन टपको सुन्दरता रहेको बताएका छन् ।

जेरी अन टपमा चुलबुलेदेखि भावुक बनाउनेसम्मका दृश्यमा दमदार अभिनय प्रस्तुत गरेर आँचलले ध्यान खिच्न सफल भएकी हुन् । मध्यान्तर अघि समर्पित प्रेमिका र मध्यान्तरपछि धोका पाएकी श्रेयाको रुपमा उनले करिअरकै उत्कृष्ट अभिनय गरेको धेरैको बुझाइ छ । फर्की फर्की पछि अनमोल केसी र जसिता गुरु‌ङको जोडी चर्चामा थियो तर अहिले पर्दामा आँचलले निभाएको श्रेया पात्रले दर्शकलाई हुरुक्क बनाएको छ ।

आँचलले चलचित्रमा प्रस्तुत गरेको भावनात्मक गहिराइ, संवाद प्रस्तुति र स्वाभाविक अभिनय शैलीको सबैले प्रशंसा गरेका छन् । विशेषगरी को एक्टर अनमोल केसीसँगको उनको केमेस्ट्रीलाई दर्शकले नेपाली सिनेमाको सबैभन्दा ताजा र आकर्षक जोडीका रूपमा वर्णन गरेका छन् ।

चलचित्र समीक्षकहरूले पनि आँचलको कामलाई उनको करियरको सबैभन्दा परिपक्व अभिनय भनेका छन् । उनीहरूले लेखेका छन्, आँचलले जेरी अन टपमार्फत आफू केवल ग्ल्यामरस नायिका होइन, सक्षम कलाकार पनि हो भन्ने प्रमाण दिएकी छन्।” फिल्म हाउसभर दर्शकको उत्साह र सिनेमा हलमा गुन्जिएको तालिले यो चलचित्रले आँचलको अभिनय यात्रा नयाँ उचाइमा पुर्‍याएको संकेत गरिरहेको छ । आँचलको आत्मविश्वास, भावनात्मक प्रभाव र पर्दामा देखिएको सहज उपस्थिति अहिले नेपाली फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ ।

सम्बन्धित खबर