Site Logo
०५ मंसिर २०८२, शुक्रबार

‘आ बाट आमा’को नयाँ २ वटा पोस्टर सार्वजनिक


निर्देशक चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक दुई पोस्टरले फिल्मका मुख्य पात्रहरूको मनोदशा प्रस्तुत गर्दै कथावस्तुबारे संकेत गरेको छ । खुसी र पीडाको भाव मिश्रित दुवै पोस्टरमा गाउँ र विदेशको दृश्य पृष्ठभूमिमा राखिएको छ । यसले रहर र बाध्यताको कथामा फिल्म आधारित रहेको संकेत गर्छ ।



पोस्टरमा फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेतीलाई प्रस्तुत गरिएको छ । पल दुई फरक लुक्समा देखिएका छन् । एउटामा उनको लामो कपाल देखिन्छ भने अर्कोमा छोटो कपाल छ । यसले फिल्ममा उनी दोहोरो भूमिकामा हुनसक्ने सम्भावनालाई दर्शाउँछ ।

आमा-बाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको यस फिल्ममा विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दीलिप उखेडा, रचना गौतम लगायतको पनि अभिनय रहेको छ । यसमा निर्देशक पन्त स्वयंको लेखन छ भने ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नवराज उप्रेतीको डिओपी तथा कोशिश क्षेत्री तथा बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । शहीद दिवसको अवसर पारेर आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

सम्बन्धित खबर